>
*जाे कहिल्यै हारेनन्* > ~~~~~~~~~~>> नाम : माे. ताहिर मियाँ > माता : बसिरन खातुन> जन्म : वि.सं. २ जेठ, २००२, हरिनगर गाउँपालिका, वडा नं.-२, सुनसरी (साविक रामनगर भुटहा-७)> मृत्यु : वि.सं. १२ भदाै, २०८०> शिक्षा : सामान्य> पेसा : राजनीति> दल : नेपाली काँग्रेस> जिम्मेवारी : क्षेत्रीय सभापति (सुनसरी ४)> ओहदा : प्रदेश सभा सदस्य । गाविस अध्यक्ष > ~~~~~~~~~~~~~~~~~~>> नागरिकता अनुसार माे. ताहिर मियाँको जन्म वि.सं. २००१ साल जेठ २ गते एउटा सामान्य किसान परिवारमा भएकाे थियाे । यद्यपि, भनिन्छ उनी अझ ५-६ वर्षपहिले नै जन्मेका थिए । तत्कालीन माेरङ, हाल सुनसरी जिल्लाकाे रामनगर भुटहा गाविसकाे वडा नं. ७, हाल हरिनगर गाउँपालिका वडा नं. २ का वासिन्दा दोस्त महमद मियाँका पत्नी बसिरन खातुनको काेखबाट उनकाे जन्म भएकाे थियाे । >> उनकाे परिवारमा पाँच दाजुभाइ, एक बहिनी र आमाबुवा गरी जम्मा आठ सदस्य थिए । उनी परिवारका जेठा छाेरा थिए । वि.सं. २०२१ मा उनकाे घरबाट एक मील दक्षिणमा पर्ने विक्रमपुर भन्ने बस्तीकी सहीरा खातुनसँग इस्लामी विधिअनुसार उनकाे निकाह भएकाे थियाे । त्यस बखत उनी १९ वर्षका थिए । उनका पाँच छोरा र दुई छोरी छन् । उनका सवै सन्तान वैवाहिक जीवनमा बाँधिइसकेका छन् । उनका आठजना नाति र नाैजना नातिनी छन् । उनका सवै छोराहरू भिन्दै भिन्दै व्यवसायमा सक्रिय छन् । जेठा छाेरा सलामुद्दीन अन्सारी उनकाे राजनीतिक विरासत सम्हाल्दै नेपाल सरकारकाे जागीर छाेडेर राजनीतिमा सक्रिय छन् ।>> ताहिर मियाँले भारतमा सामान्य शिक्षा हासिल गरेका थिए । त्यस समय भुटहामा विद्यालय उपलब्ध थिएन ।>> राजनीतिक यात्रा > °°°°°°°°°°°°°°°°°>> सुधारिएकाे निर्दलीय पञ्चायती व्यवस्था कि बहुदलीय प्रजातान्त्रिक व्यवस्थाकाे लागि वि.सं. २०३६ सालमा जनमत सङ्ग्रह भइरहेकाे बेला ताहिर मियाँ बहुदलकाे पक्षमा नेपाली कांग्रेससँग जाेडिन पुगेका थिए । त्यति बेला उनी ३४ वर्षका थिए ।>> उनी निर्वाचनसँग नडराउने साहसी युवा थिए । भुटहामा त्यस बखत पञ्चेहरूकाे बाेलवाला थियाे । वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीका लागि भएकाे आन्दाेलनमा उनी भुटहामा सक्रिय थिए । त्यस बेला भुटहा इलाकामा माैलाना लतीफ, अमीन मियाँ >> माैलाना लतीफ, अमीन मियाँपछि ताहिर मियाँ, माैलाना हनीफ, नक्छेदी अन्सारी, लुराे मन्शी शाह, नजमुल मरर, सराज अन्सारी (घुस्की), गुजाई अन्सारी उनका समकालीन मुस्लिमहरू काँग्रेसमा सक्रिय थिए । उनीसँग बढी सहकार्य गर्नेमा तैयब मियाँ र भिखारी मण्डल आदि पनि पर्छन् । >> देशव्यापी रूपमा भएकाे सशक्त आन्दाेलनले गर्दा वि.सं. २०४६ सालमा प्रजातन्त्रकाे पुनर्बहाली भयाे । वि.सं. २०४७ सालमा नयाँ संविधान जारी भयाे । वि.सं. २०४८ सालमा स्थानीय निर्वाचन भयाे । ताहिर मियाँ त्यस निर्वाचनमा रामनगर भुटहा गाविसकाे अध्यक्षकाे उम्मेद्वार हुन चाहे । पार्टीले उनलाई टिकट दिएन । उनी महत्वाकाँक्षी थिए । उनमा इच्छाशक्ति थियाे । जनताकाे साथले उनलाई स्वतन्त्र उम्मेद्वार भई चुनाव लड्न प्रेरित ग-याे । उनले गाविस अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिए । जनताले उनलाई जिताए । उनी पाँच वर्ष गाविस अध्यक्षकाे रूपमा काम गरे । स्थानीय वासिन्दाहरूकाे सुखदु:खमा उनी साथ रहन्थे । त्यही भएर वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले उनलाई गा.वि.स. अध्यक्ष पदकाे टिकट प्रदान ग-याे । उनी लाेकप्रिय थिए । फेरि चुनाव जिते । यसपछि उनकाे जीवनचर्यामा निकै परिवर्तन आयाे । समाजमा हुने झैँझगडा, लेनदेन, पारिवारिक विवाद आदि मिलाउन उनी खप्पिस थिए । मानिसहरू न्यायकाे लागि उनकाे घर पुग्थे । साँझ-बिहान उनकाे आँगनमा मानिसहरू आउन थाले । उनले पक्ष-विपक्षबीच मेलमिलाप गराए । वि.सं. २०५४ पछि २०७३ सम्म स्थानीय तहकाे निर्वाचन भएन । यस लामाे अवधिमा उनकाे दैनिकी समाजसेवामा बित्याे । हरिनगरमा उनकाे लाेकप्रियता र समाजसेवाकाे अझ प्रसार भयाे । समाजमा उनकाे दबदबा कायम थियाे । उनकाे पहिचान नै पञ्चायतीबाट हुन गयाे । >> वि.सं. २०७२ सालमा संविधान सभामार्फत् नेपालमा नयाँ संविधान आयाे । नयाँ संविधानले देश संघीयतामा गयाे । तीन तहकाे संसद र कार्यपालिकाकाे व्यवस्था भयाे । वि.सं. २०७४ सालमा संघीय र प्रादेशिक संसदकाे निर्वाचन भयाे । वि.सं. २०७४ सालको यस निर्वाचनमा प्रदेश सभा सदस्यकाे प्रत्यासी बन्न नेपाली काँग्रेसबाट उनले टिकट पाए । उनी सुनसरी जिल्लाकाे प्रादेशिक निर्वाचन क्षेत्र नं. ४(ख) काे उम्मेद्वार बने । ७२ वर्षकाे जीवनकाे उत्तरार्द्धमा संसदीय उम्मेद्वार बन्दा उनले जनतासँग मत माग्ने शैली अनाैठाे थियाे । उनी शारीरिक रूपमा कमजाेर भइसकेका थिए । सुस्तरी बाेल्थे । जनताकाे घरदैलाेमा मत माग्न जाँदा कुनै तामझाम हुँदैनथ्याे । प्राय: दुईजना मात्र पुग्थे र दुई हात जाेडेर मत माग्थे । सुनसरीकाे यस भेगकाे निर्वाचन निकै महङ्गाे हुने गर्दछ तर उनले सरकारी मापदण्ड मिचेनन् र कुनै तामझाम गरेनन् । उनका प्रतिद्वन्द्वीलाई कतिपयले भने, 'याे ठान्नुस् कि तपाईं अर्काे गिरिजासँग प्रतिस्पर्धा गर्नुहुँदैछ ।' अन्ततः नेकपा माओवादीका उम्मेद्वार तत्कालीन राज्यमन्त्री माेहम्मद जाकिर हुसैनलाई पराजित गर्दै उनी प्रदेश नं. १ (हाल काेशी) काे प्रदेश सभा सदस्य भए । प्रदेश सांसद भएर उनले गरेकाे काम उल्लेखनीय नभए पनि उनी आजीवन निर्वाचन जित्ने नेताकाे रूपमा दर्ज भए; कहिल्यै हारेनन् । उनले संसार परित्याग गर्नुभन्दा ९ महिनाअघि अर्काे संसदीय निर्वाचन सम्पन्न भयाे तर उनले टिकटकाे चाहना राखेनन् । >> ताहिर मियाँ निस्वार्थी, त्यागी र इमानदार छविका सालिन नेता थिए । उनी दुईपटक नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. ४ काे क्षेत्रीय सभापतिमा विजय भएका थिए । सुनसरी काँग्रेसकाे उथलपुथललाई चिर्दै उनले त्याे क्षेत्रकाे नेतृत्व गरेका थिए । उनी सुनसरीकाे सीमावर्ति दक्षिणी क्षेत्रमा काँग्रेसकाे एउटा पिलरकाे रूपमा चिनिए । गुटकाे राजनीति झाँगिदा पनि उनी कहिल्यै विचलित भएनन् जबकि उनकाे आन्तरिक शक्तिलाई कमजाेर पार्न पटक पटक प्रयासहरू भए । >> राजनीतिक रूपमा हेर्दा जनप्रिय, नेपाली काँग्रेसप्रतिकाे निष्ठा तथा लगाव, राजनीतिक निरन्तरता, सक्रियता र वरिष्ठता - यी सबैका बावजुद सांगठनिक रूपमा उनी निर्वाचन क्षेत्रकाे सभापतिभन्दा माथि उक्लन सकेनन् । सामान्यतः मुस्लिम राजनीतिकर्मीहरूले देशभर याे दशा भाेगेका छन् । नेतृत्व विकासकाे काेणबाट नियाल्दा ताहिर मियाँले पार्टीभित्र अझ धेरै माथिकाे जिम्मेवारी पाउनुपर्ने नेता हुन् ।>> ताहिर मियाँकाे घरमा नेपाली काँग्रेसका ठूला नेताहरू पनि आउँथे । शेरबहादुर देउवा, रामचन्द्र पाैडेलजस्ता नेताहरू उनकाे घर आए ।>> आम जीवन> °°°°°°°°°°°>> ताहिर अन्सारी मध्यम वर्गका थिए । उनकाे विवाह १९ वर्षकै उमेरमा भएकाेले उनीमाथि जिम्मेवारी बढ्याे । उनकाे घर भुटहादेखि नजिककाे भारतीय नाकाकाे दुरी ४-५ किमी मात्र थियाे । नेपाल भारतीय उत्पादनमा निर्भर भएकाेले भारतबाट मालसामान खरीद गरी नेपालका पसलहरूमा बेच्ने व्यसाय गरेर सयाैँ मानिसहरू गुजारा गर्थे । ताहिर मियाँले पनि याे व्यवसाय गरे । यसबाट श्रीमती र बच्चाहरूकाे गुजारा चल्थ्याे । उनी कृषि पेसामा पनि थिए; व्यवसायका साथै धान, गहुँ आदि उत्पादन पनि गर्थे । उनले सन्तानहरूलाई शिक्षा पनि दिलाए । यद्यपि उनका सवै सन्तान शिक्षित हुन सकेनन् । >> उनी जीवनकाे प्राैढावस्थामा मस्जिदसँग जाेडिएका थिए । उनी नियमित दैनिक पाँचपटक सलात अदा गर्न मस्जिदमा देखिए । धार्मिक कार्य र दानमा उनकाे रुचि बढेकाे थियाे । उनी प्राैढावस्थामा पनि रमजान महीनाभरि साैम (व्रत) काे पाबन्द थिए । उनी श्रीमतीसमेत हज्ज गर्न वि.सं. २०७४ मा साउदी अरबकाे मक्का गएका थिए । >> भुटहामा हिन्दू-मुस्लिमबीचकाे साैहार्द्र सम्बन्ध स्थापित गर्न उनी सदैव गम्भीर भए । उनले जहाँ मस्जिद निर्माणमा सहयाेग गरे त्यहीँ मन्दिर निर्माण पनि उनकाे प्राथमिकतामा रह्याे । भुटहा बजारकाे मन्दिर विवादमा उनकाे भूमिकालाई सकारात्मक रूपमा लिइएकाे छ । यही कारण थियाे कि उनी उम्मेद्वार भएका सवै निर्वाचनहरूमा उनलाई मुस्लिमझैँ हिन्दूहरूले पनि मत दिए । घरमा आएका गरीब, दुःखीलाई उनले सक्दाे सहयाेग गरे । ताहिर मियाँ राजनीतिक नेता मात्र थिएनन्, उनी सामाजिक अभियन्ता पनि थिए । >> उनी दिनहुँ स्नान गर्थे । स्नानपछि सलात अदा गर्न मस्जिद जान्थे । उनी सरल मिजासका थिए । उनमा छलकपट थिएन । जुन काम उनीबाट हुने खालकाे हुन्थ्याे, हुन्छ भन्थे; न हुने खालकाे कामकाे बारेमा उनले पहिले नै न हुने भनिदिन्थे । उनले कामकाे सिलसिलामा कसैलाई अल्झाएर राख्दैन थिए । >> छोरा-छोरीहरूलाई उनले पटक पटक उपदेश दिए, 'कसैसँग कहिल्यै गलत नगर्नू; तिमीहरूसँग पनि कहिल्यै गलत हुँदैन । तिमीहरूले कसैसँग केही लिएका छौ भने न लिएको कहिल्यै न भन्नू; लिएकाे स्वीकार गर्नू; बन्दाेबस्त गरेर फिर्ता दिनू ।' उनी समाज र परिवारमा उत्पन्न समस्याहरूलाई धैर्यतापूर्वक समाधान गर्ने काेशिस गर्थे; समाज र परिवारमा कहिल्यै कसैलाई गालीगलाै र कुटपीट गरेनन् । कसैले कुनै गलती गरेमा बसेर सम्झाइबुझाइ गर्थे; सवैलाई समान रूपले हेर्ने उनकाे स्वभाव थियाे । जीवनकाे उत्तरार्द्धमा उनी कुर्था-सुरुवाल र टाउकाेमा मुस्लिम संस्कृति झल्किने गाेलाे सेताे टाेपी लगाए । भुटहा बजारकाे स्थानीय संस्कृतिअनुसार चिया र पान खान्थे । साँझ-बिहान भुटहा बजारमा स्थानीयहरूसँग उठबस गर्थे ।>> समग्रमा ताहिर मियाँ साक्षर मात्र भए पनि स्थानीय स्तरका एक जुझारु राजनीतिकर्मी, सामाजिक अभियन्ता र असल नागरिक थिए जसले सदैव सामाजिक सद्भाव र न्यायमा जाेड दिए । स्कुल-कलेजकाे शिक्षा मात्र सबै थाेक हाेइन झन् व्यवहारबाट बाँच्ने शैली सिक्न सकिन्छ भन्ने उनकाे जीवनकथाले भन्दछ ।>> २०८० भदाै १२ गते मंगलवारका दिन बिहान सामाजिक सञ्जालमा एउटा अप्रिय उद्घाेष भयाे- "पूर्व प्रदेश सभा सदस्य ताहिर मियाँ रहेनन् ।" हाे, सुनसरी दक्षिण भेगकाे एउटा राजनीतिक हस्ती र सामाजिक सद्भावका त्याे अभियन्ता चीर निद्रामा सदाका लागि सुतिसकेका थिए । सामाजिक सञ्जालकाे यस खबरसँगै ताहिर मियाँकाे अन्तिम संस्कारका लागि जम्मा भएकाे भीडले उनकाे अपार लाेकप्रियतालाई प्रदर्शन गरिरहेकाे थियाे । ('काेशीमा मुस्लिम नेतृत्व विकास' नामक पुस्तककाे पाण्डुलिपिबाट साभार)>>
>>