काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् । शनिवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।>
>
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका मन्त्री लिङदेनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए ।>
उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए । उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लर अनुशासनहिन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको बताए । उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे ।>
उनले भने, ‘आज चौतर्र्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन् । नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ ।>
त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ । हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ । विद्यार्थीहरुमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ । यो गुण्डा उत्पादन, हुल्लर अनुशासनहिन उत्पादन गर्ने संगठन होइन, यो देशभक्त उत्पादन गर्ने संगठन गर्ने हो । यो संगठका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन ।’>
मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरु स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।>
उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन विश्वविद्यालयका प्राध्यापकहरुलाई कालोमोसो दल्ने र ताल्चा लगाउने संगठन नहुने बताए ।>>