काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ ।>
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पार्नुभयो ।>
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ ।”>
यसअघि महाभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयले सर्वाेच्च अदालतलाई पत्र पठाएको थियो । महाअभियोग प्रस्ताव अघिल्लो प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल हुनाकासाथै सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।>
तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा यही मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ । गत फागुन १ गते सङ्घीय संसद्का महासचिवबाट प्रधानन्यायाधीश जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र निष्प्रभावी भएको भनी सचिवालयले पत्र पठाएको छ ।>
प्रधानन्यायाधीश जबराले मङ्सिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी सचिवालयमा निवदेन दिनुभएको थियो । प्रधानन्यायाधीश जबरा यही मङ्सिर २७ गते अनिवार्य अवकास लिँदै हुनुहुन्छ । रासस>>